
हेटौडा । यहाँ सम्पन्न स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरले जितेको छ । फाइनलमा रियल स्टार क्लबलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै एन्फा मकवानपुर विजेता बनेको हो ।
पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा एन्फा मकवानपुरका लागि अनिष महर्जनले दुई गोल गरे भने मोहित गुरुङ र सुजल श्रेष्ठले थप एक–एक गोल गरेका थिए ।
विजेता बनेको एन्फा मकवानपुरले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता रियल स्टारले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
फाइनल खेलको म्यान अफ द म्याच एन्फा मकवानपुरका अनिष महर्जन चुनिए । उनले पुरस्कार वापत नगद २५०० र ट्रफी हात पारे । अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक एन्फा मकवानपुर कै कृषल मोक्तान चुनिए ।
उत्कृष्ट डिफेन्डर रियल स्टारका उर्गेन रुम्बा बन्दा उत्कृष्ट मिडफिल्डर एन्फा मकवानपुरका रितेश श्रेष्ठ चुनिए । त्यस्तै उत्कृष्ट फरवार्ड पनि एन्फा मकवानपुर कै प्रितम स्याङ्बो बन्दा उत्कृष्ट प्रशिक्षक एन्फा मकवानपुरका विजयलाल श्रेष्ठ घोषित भए । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।
त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एन्फा मकवानपुर कै मोहित गुरुङ घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे ।
एफसी मुन्डियाल, हेटौडा, मकवानपुरको आयोजनामा मंसिर ५ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा