News समपुर्ण कपमा देवदहको गोल वर्षा
सुरज राना मगर

सुपौली । यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगितामा गोलको वर्षा गर्दै देवदह ब्वाईज, देवदह प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ देवदहले न्यु सिर्जना युथ क्लब, करौजियालाई शून्यका विरुद्ध ८ गोलले हरायो । देवदहको जितमा सुरज थारुले ह्याट्रिक सहित पाँच गोल गरे । त्यस्तै टेक गुरुङले दुई गोल गर्दा थप एक गोल निर बहादुर थापाले गरे ।

खेलमा ह्याट्रिकसहित एक्लैले पाँच गोल गरेका देवदहका सुरज थारु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १००० र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत मंसिर १५ गते शुक्रबारको खेल सिम्रिक युवा क्लब, बुटवल र न्यु राईज युथ क्लब, बभनी बीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।

तिलोत्तमा–१४ निवासी स्व. डिम बहादुर गुरुङ्गकी श्रीमती जसमाया गुरुङ्ग, छोराहरु डम्मर ब। गुरुङ्ग, बुद्धि प्रसाद गुरुङ्ग, रन ब। गुरुङ्ग, चित्र ब। गुरुङ्ग र छोरी श्रीमाया गुरुङ्गद्वारा मुख्य प्रायोजन गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्ने आर्थिक संयोजक तारा केसीले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल भने यही मंसिर २४ गतेका दिन हुने खेल संयोजक हेम पुनले जानकारी दिए ।

Post Comments