News कोशी प्रदेश अन्तर स्थानीय तह अध्यक्ष कप पौष १७ देखि
गोलनेपाल

मानेभञ्ज्याङ्ग । ‘खेलकुद पर्यटन कृषिको विकास, मानेभञ्ज्याङ्ग गाउँपालिकाको निकास’ भन्ने नाराका साथ मानेभञ्ज्याङ्ग, ओखलढुङ्गाको आयोजनामा कोशी प्रदेश अन्तर स्थानीय तह अध्यक्ष कप फुटबल प्रतियोगिता आउँदो पौष १७ देखि २९ गतेसम्म हुने भएको छ ।

मानेभञ्ज्याङ्ग गाउँपालिका–३, उँबु स्थित ब्ओकुला खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि पौष ९ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै खेलतालिका पौष १० गते प्रकाशित गरिने पनि आयोजकले जानकारी दियो ।

ओखलढुङ्गा जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २.५ तोला सुन र २०० तोला चाँदीबाट बनेको ट्रफीसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाखसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ ।

सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि सान्त्वना पुरस्कार स्वरुप जनही १–१ लाख प्रदान गरिनेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ५ हजार, विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई १०–१० हजार र प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार सहित पुरस्कृत गरिने आयोजकले जानकारी दियो ।

Post Comments