News २६औं फादर मोरान स्मृति कप शुरु
गोलनेपाल

काठमाडौं । ग्रासरुट फुटबलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ वार्षिक रुपमा आयोजना हुँदै आएको फादर मोरान स्मृति कप यु–१२ अन्तर विद्यालय फुटबल प्रतियोगिताको २६औं संस्करण शुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन चार खेलहरु सम्पन्न भए । पहिलो खेलमा आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरी (निलो) ले भक्तपुर निस्टलाई शून्यका विरुद्ध ४ गोलले हरायो । सेन्ट जेभियर्सका लागि ब्रिस सुनुवार, समिर डंगोल, स्वप्निल सिंह बिष्टले गोल गरे ।

थप एक गोल भने भक्तपुरले आत्मघाती गोलका रुपमा खाएको थियो । खेलमा सेन्ट जेभियर्सका सुशान्त पाण्डे प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा क्रिसेन्ट एकेडेमीले डल्फिन इङलिस सेकेण्डरी स्कुललाई १–० ले हरायो । क्रिसेन्टका लागि अनिम तामाङले गोल गरे । खेलमा क्रिसेन्ट एकेडेमी कै उर्गेन तामाङ म्यान अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा लिटिल एन्जल्स स्कुलले साविक विजेता माया युनिभर्स एकेडेमीलाई ५–० को फराकिलो अन्तरले स्तब्ध बनायो । लिटिल एन्जल्सका लागि अर्नब राईले ह्याट्रिक गरे । सुमन बम र युनिक मगरले थप एक–एक गोल गरे । खेलमा लिटिल एन्जल्सका अर्नब राई म्यान अफ द म्याच चुनिए ।

चौथो खेलमा नेपाल डन बस्को स्कुलले गोदावरी रेसिडेन्शियल स्कुललाई १०–० को भारी अन्तरले हरायो । डन बस्कोका लागि विशान्सु हाङ राई एक्लैले ७ गोल गरे । आवाश गुरुङ, अविनित धिताल र प्रनिश भुजेलले थप एक–एक गोल गरे । खेलमा डन बस्कोका विशान्सु हाङ राई म्यान अफ द म्याच चुनिए ।

सेन्ट भेजियर्स स्कुल, गोदावरी, ललितपुरको आयोजनामा शुरु प्रतियोगितामा कुल २० टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल आउँदो पौष १० गतेका दिन हुनेछ ।

Post Comments