News किरात गोल्डकपको फाइनल आज, बिर्तामोड र डाँगीहाट उपाधिका लागि भिड्दै
गोलनेपाल

फिदिम । यहाँ जारी वाइ–वाइ अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम किरात गोल्डकपको फाइनलमा आज झापाको बिर्तामोड युनाइटेड एफसी र मोरङको डाँगीहाट एफसी भिड्दैछन् ।

उत्कृष्ट कमब्याक गर्दै झापाको बिर्तामोडले ताप्लेजुङलाई २-१ गोलले पराजित गरेर अन्तिम सेमिफाइनलबाट फाइनलमा स्थान बनाएको हो । त्यस्तै, मोरङले आयोजक पाँचथरलाई टाइब्रेकरमा ४-१ गोलअन्तरले पराजित गरेर फाइनल प्रवेश गरेको पहिलो टोली हो ।

फिदिम माविको खेल मैदानमा आज दिउँसो १ः३० बजे हुने फाइनल भिडन्तमा दुवै टोलीले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियाेगितामा भारतकाे दार्जीलिङ, ताप्लेजुङ, तेह्रथुम, इलाम, काठमाडाैँलगायत ८ टिमकाे सहभागिता थियाे ।

प्रतियोगिताको विजेताले नगद ४ लाख ४ हजार ४४४ र उपविजेता टोलीले नगद २ लाख २ हजार २२२ सहित आकर्षक ट्रफी पाउने छ । विधागत पुरस्कारतर्फ १० हजार सर्वोत्कृष्ट बन्ने खेलाडीले नगद २५ हजार पाउने आयोजकले जनाएको छ ।
 
Post Comments