News शिर्ष तीनमा उक्लियो बुटवल, धनगढीको शिर्षता कायमै
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ सुस्त शुरुवात गरेको बुटवल लुम्बिनी फुटबल क्लब शनिबार महत्वपूर्ण जितका साथ लिगतालिकाको शिर्ष तीनमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा बुटवलले साविक विजेता काठमाडौं रेजर्सलाई २–१ ले हराउँदै महत्वपूर्ण तीन अंक बटुल्न सफल भएको हो । खेलको २८औं मिनटमा स्टेफन बिनोङको गोलबाट बुटवलले खेलमा अग्रता बनाएको थियो । बुटवलले त्यो अग्रता पहिलो हाफसम्म कायम पनि राख्यो ।

दोस्रो हाफको ६०औं मिनटमा एरिक बिष्टले बुटवलका लागि दोस्रो गोल गरे । जुन गोल खेलको निर्णायक गोल पनि बन्यो । उता खेलको अन्तिमतिर इन्जुरी समयमा राजिव लोप्चनले काठमाडौंका लागि एक गोल फर्काए तापनि टोलीलाई खेलमा फर्काउन भने सकेनन् ।

खेलमा बुटवल लुम्बिनीका जिलेस्पी जंग कार्की म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे । यो जितपछि ५ खेलबाट ७ अंक जोडेको बुटवल लिगतालिकाको तेस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको पराजित काठमाडौं भने ५ अंकका साथ छैठौं स्थानमा छ ।

त्यसैगरी शनिबार नै भएको दिनको पहिलो खेलमा लिगलिडर धनगढी फुटबल क्लब र स्र्पोटिङ इलाम एफसीले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा इलामका अमथ एन्डाव म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।

यो नतिजापछि ४ खेलबाट ८ अंक जोडेको धनगढी शिर्ष स्थानमा छ । उता एक खेल बढी खेलेको इलाम भने ४ अंकका साथ सातौं स्थानमा छ ।

Post Comments