News डाँगीहाटलाई प्रथम किरात गोल्डकपको उपाधि
रमेश समदर्शी

फिदिम । चिरपरिचित प्रतिद्वन्द्वी बिर्तामोड युनाइटेड एफसी झापालाई पराजित गर्दै मोरङको डाँगीहाट एफसी यहाँ आयोजित प्रथम किरात गोल्डकप च्याम्पियन बनेको छ ।

शनिबार फिदिम माविको खेलमैदानमा भएको फाइनल खेलमा मोरङले झापालाई २-१ गोलअन्तरमा पराजित गर्दै गोल्डकपको च्याम्पियन बनेको हो । मोरङका लागि सञ्जय धिमाल र उमेश राईले गोल गरे ।

हजारौँ दर्शकले भरिएको फाइनल खेलमा झापाका लागि कप्तान योगेश गुरुङले मात्र इन्जुरी समयमा गोल फर्काएका थिए । झापाले उपविजेता बन्दै नगद २ लाख २ हजार २२२ रुपैयाँ चित्त बुझायो । च्याम्पियन बनेको मोरङले नगद ४ लाख ४ हजार ४४४ र आकर्षक ट्रफी पायो ।

फाइनल खेलको म्यान अफ दी म्याच झापाका प्रदिप बुढाथोकी भए । उनले नगद ५ हजार पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी मोरङका अभिषेक लिम्बू बने । उनलाई नगद २५ हजार दिइयो ।

यस्तै, प्रतियागितामा ३ गोल गरेका मोरङका सञ्जय धिमाल सर्वाधिक गोलकर्ता हुँदै १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट गोलरक्षक मोरङका प्रमिजय गच्छदार, उत्कृष्ट डिफेन्डर मोरङका मानबाहादुर परियार, उत्कृष्ट मिडफिल्डर मोरङका उमेश कार्की, उत्कृष्ट प्रशिक्षक मोरङका राज लिम्बू बने । उनीहरु सबैले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको उदीयमान खेलाडी पाँचथर फुटबल क्लबका शुकराज राई चुनिए । उनले दश हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा भारत र नेपालका ८ टोली सहभागी थिए ।
 
Post Comments