News ताप्लेजुङ: न्यू स्टार सिरिजंघा गोल्डकपको फाइनलमा
रमेश समदर्शी

बिर्तामोड ७ झापाको न्यू स्टार क्लब यहाँ जारी तेस्रो सिरिजंघा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज तेल्लोक माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली उदयपुरको ब्रदरहुड एफसीलाई सडन डेथमा पराजित गर्दै न्यू स्टारले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा झापा र उदयपुरले गोलरहित बराबरी खेलेका थिए । खेलको निर्णय लिन टाइब्रेकर रोजिए पनि दुवै टोलीले ४-४ गोलको बराबरी गरे । अन्ततः सडन डेथमा झापा ५-४ गोलअन्तरले विजयी बन्यो ।

झापाका गोलरक्षक चरी लिम्बू र उदयपुरका गोलरक्षक सन्दिप लिम्बूले एक एक प्रहार रोकेका थिए । तर, उदयपुरका प्रविण श्रेष्ठको प्रहार गोलपोस्टमा लाग्दै भित्रिएपछि झापाले फाइनलमा स्थान बनाएको हो । झापा दोस्रो संस्करणको उपविजेता टोली हो । झापाले उपाधि ललितपुरको सुनाकोठी सिटी एफसीलाई सुम्पिएको थियो ।

आजको खेलको म्यान अफ दी म्याच झापाका कप्तान सनम राई घोषित भए । यस्तै, आजै भएको अन्तिम क्वाटरफाइनल खेलमा विजयीहुँदै साविक विजेता सुनाकोठी सेमिफाइनलमा प्रवेश गरेको छ । भोलि हुने सेमिफाइनलमा इलाम सन्दकपुरको देउराली स्पोर्टिङ क्लबसँग सुनाकोठीले भेट पक्का गरेको हो ।

सुनाकोठीले सेमिफाइनल यात्रामा पाँचथरको साझा युवा क्लबलाई १-० गोलअन्तरले पराजित गरेको थियो । उसका लागि इन्जुरी समयमा सविन मगरले गोल गरेका हुन् । उनी खेलको म्यान अफ दी म्याच बने । त्येअंसी सिरिजंघा सिं थेवेको ३१९औँ जन्मजयन्तीको अवसरमा तेल्लोक स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल खेल मंसिर २९ गते हुनेछ । विजेताले नगद २ लाख २ हजार २२२ र ट्रफी पाउने छ ।

Post Comments