News गाईघाटलाई एन्फा प्रेसिडेन्ट कपको उपाधि
गोलनेपाल

धरान । यहाँ सम्पन्न प्रथम एन्फा प्रेसिडेन्ट कप यु–१५ नकआउट फुटबल प्रतियोगिताको उपाधि गाईघाट फुटबल क्लब, उदयपुरले जितेको छ । फाइनलमा अल स्टार फुटबल क्लब, सुनसरीलाई टाईब्रेकरमा हराउँदै गाईघाट च्याम्पियन बनेको हो ।

त्यसअघि एन्फा टेक्निकल सेन्टर, धरानको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । टाईब्रेकरमा भने गाईघाटले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको गाईघाटले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता अल स्टारले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

अल स्टारका बिबेक भुजेल फाइनल खेलको म्यान अफ द म्याच चुनिए । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक गाईघाटका रोहन बुर्जा मगर बन्दा उत्कृष्ट डिफेन्डर अल स्टारका करुण थापा चुनिए ।

उत्कृष्ट मिडफिल्डर राष्ट्रिय जागृति क्लब, सुनसरीका एलन जिमी बन्दा उत्कृष्ट फरवार्ड न्यु स्टार क्लब, सुनसरीका सुमन चौधरी बने । उत्कृष्ट प्रशिक्षक गाईघाटका किरण कार्की घोषित भए भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गाईघाटका अरुण अधिकारी चुनिए ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा सुनसरी, मोरङ, झापा, उदयपुरका गरी कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments