News सन्दकपुर, युनाइटेड फुल्पा र सुकेटारको जित
गोलनेपाल

फिदिम । यहाँ जारी वाइ–वाइ तेस्रो चासोक तङ्नाम कप पुरुष फुटबल प्रतियोगितातर्फ सन्दकपुर, युनाइटेड फुल्पा र सुकेटार फुटबल क्लबले जित हात पारेका छन् ।

फिदिम–१४, फुल्पा स्थित कांसोरे खेलमैदानमा भएको दिनको पहिलो खेलमा सन्दकपुरले गुप्तेश्वर माविलाई ८–१ को फराकिलो अन्तरले हरायो । सन्दकपुरका लागि सुसन कार्की र सुगम खाजुमले ह्याट्रिक गरे । त्यस्तै सन्दिप राई र समिर खाजिमले थप एक–एक गोल गरे । उता पराजित गुप्तेश्वरका लागि आशिषले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा सन्दकपुरका सुगम खाजुम म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा युनाइटेड फुल्पाले लुङरुपा स्र्पोटिङलाई शून्यका विरुद्ध १ गोलले हरायो । युनाइटेड फुल्पाका लागि लुमिहाङ नेम्वाङले एक मात्र निर्णायक गोल गरे । नेम्वाङ नै खेलको म्यान अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा सुकेटार फुटबल क्लबले फाल्गुनन्द फुटबल क्लबलाई २–० ले पराजित गर्यो । सुकेटारका लागि नबिन फागो र पाल्देन तामाङले गोल गरे । खेलमा सुकेटारका पाल्देन तामाङ म्यान अफ द म्याच पनि चुनिए ।

आनी साक्थिम क्लब, फिदिम–१४, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै महिलातर्फ विजेताले ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । समापन यही पुस १३ गतेका दिन हुनेछ ।

Post Comments