News मेसी तेस्रोपटक बने फिफाका 'बेस्ट'
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अर्जेन्टिनी सुपर स्टार लियोनल मेसीले तेस्रोपटक फिफाको द बेस्ट अवार्ड जितेका छन् । ३६ वर्षिय मेसीले यसअघि सन् २०१९ र २०२२ मा पनि यो अवार्ड जितेका थिए । लन्डनमा सम्पन्न कार्यक्रममा मेसीले म्यानचेष्टर सिटी र नर्वेका इर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पिएसजी) र फ्रान्सका फरवार्डका किलियन एमबाप्पेलाई पछि पारे ।

महिलातर्फको यो अवार्ड स्पेन र बार्सिलोनाकी फरवार्ड आइताना बोनमतीले हात पारेकी छिन् । उनले कोलोम्बियाकी लिन्डा काइसेडो र स्पेन कै जेनी हर्मन्सोलाई पछि पार्दै यो अवार्ड हात पार्न सफल भईन् । स्मरण रहोस, प्रतिष्ठित बालोन डि’अर अवार्डको पुरुष र महिलातर्फ पनि मेसी र बोनमती नै उत्कृष्ट बनेका थिए ।

फिफाको पुरुषतर्फको बेस्ट प्रशिक्षक म्यानचेष्टर सिटीका पेप गार्डिओला बने भने महिलातर्फको बेस्ट अवार्ड इङल्याण्ड राष्ट्रिय महिला फुटबल टोलीकी प्रशिक्षक सरिना बिगम्यानले जितिन् ।

फिफा बेस्ट पुस्कास अवार्ड ब्राजीलका गुलेर्मी माड्रुगाले जिते । फिफाको फेयर प्ले अवार्ड पनि ब्राजीलले हात पार्दा फिफा स्पेशल अवार्ड पनि ब्राजील कै पूर्व महिला स्टार खेलाडी मार्टाले हात पारिन् ।

Post Comments