News नवयुवा र समपुर्ण सेमिफाइनलमा
सुरज राना मगर

बभनी । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र समपुर्ण युवा क्लब, सुपौली यहाँ जारी स्व. रन बहादुर भण्डारी स्मृति चौथो न्यु राईज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको पहिलो क्वाटरफाइनलमा नवयुवाले तिलोत्तमा–११, तिलोत्तमालाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । नवयुवाका लागि बिशाल सुनार र आवेश शाहीले गोल गरे । पराजित तिलोत्तमाका लागि जमिर मियाँले गोल गरेका थिए । खेलमा नवयुवाका गोलरक्षक आयुष बुढाथोकी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा समपुर्णले डिवाइसी, कोटहीमाईलाई ५–१ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । समपुर्णको जितमा रोहित पुनले दुई गोल गरे भने उत्तम थापा, सबि गुरुङ र हनक पुनले थप एक–एक गोल गरे । पराजित डिवाइसीका लागि सन्देश दर्लामीले एक मात्र गोल फर्काए । खेलमा समपुर्णका रोहित पुन म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ ३ गते बुधबार पनि दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । तेस्रो क्वाटरफाइनलतर्फ १२ः३० बजे आयोजक न्यु राईज युथ क्लब, बभनीले न्यु सिर्जना युवा क्लब, करौजियाको सामना गर्नेछ भने २ः३० बजे हुने चौथो क्वाटरफाइनलमा सञ्जिवनी युवा क्लब, देवीनगर र डि युनिटी क्लब, खैरेनी भिड्ने छन् ।

न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनीको आयोजना, चमेली भण्डारीको मुख्य प्रायोजन तथा भण्डारी ब्रदर्शको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्ने संयोजक मल्लाहले बताए । प्रतियोगिताको फाइनल खेल भने आउँदो माघ ६ गतेका दिन हुनेछ ।

Post Comments