News प्रदेशस्तरीय भेट्रान कप फुटबल हुने
रमेश समदर्शी

झापा । शिवसताक्षी, झापाको दूधेमा भेट्रान कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत १५ गतेदेखि २४ गतेसम्म प्रदेश नं. १ स्तरीय प्रथम कर्णबहादुर स्मृति भेट्रान कप हुने भएको हो ।

दूधे खेल मैदानमा हुने प्रतियोगितमा प्रथम हुने टिमले ७५ हजार र दोस्रो हुने टिमले ४५ हजारसहित मेडल, शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक सन्तोष थोप्राले बताए ।

खेलको सर्वोत्कृष्ट खेलाडीले ५ हजार हात पार्नेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई एक हजार प्रदान गरिनेछ । त्यस्तै विजेता र उपविजेताको पुरस्कार राशि स्व. कर्णबहादुर नेम्वाङको परिवारले उपलब्ध गराउने सहमति भएको छ ।

प्रतियोगितामा विराटनगर, इटहरी, धरान, दमक, सुरुङ्गा चन्द्रगढी, विर्तामोड, धाइजन र आयोजकबाट ए र वी गरी कुल १० टिम समावेश हुने स्व. कर्णबहादुर नेम्वाङका छोरा सन्तोष नेम्वाङले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ । अन्य रकमका लागि सहयोग र विभिन्न कम्पनीहरुसँग प्रायोजनका लागि कुरा भइरहेको खेल संयोजक थोप्राले बताए ।

Post Comments