News रुपन्देहीमा समपुर्णलाई वर्षको लगातार तेस्रो उपाधि
सुरज राना मगर

बभनी । रुपन्देहीमा यसवर्ष उत्कृष्ट लयमा देखिएको समपुर्ण युवा क्लब, सुपौलीले लगातार तेस्रो उपाधि जित्ने क्रममा शनिबार सम्पन्न स्व. रन बहादुर भण्डारी स्मृति चौथो न्यु राईज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

तिलोत्तमा–१३ स्थित श्री बभनी भूपू सैनिक आधारभुत विद्यालयको खेलमैदानमा भएको फाइनल भिडन्तमा समपुर्णले आयोजक न्यु राईज युथ क्लब, बभनीलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल र थपिएको अतिरित्तः समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।

टाईब्रेकरमा समपुर्णले न्यु राईजमाथि ५–३ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो । स्मरण रहोस, समपुर्णले यसै वर्ष घरेलु मैदानमा सम्पन्न दोस्रो समपुर्ण कप र गत महिना सम्पन्न ११औं फर्साटिकर कपको उपाधि पनि जितिसकेको छ ।

न्यु राईज कपको विजेता बनेको समपुर्णले उपाधिसहित नगद ७५ हजार हात पार्यो भने उपविजेता न्यु राईजले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । न्यु राईजका युगल थापा मगर प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए ।

समपुर्णका अनुप राना उत्कृष्ट गोलरक्षक बन्दा न्यु राईज कै मनिष पुन मगरले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । त्यस्तै उदीयमान खेलाडी पनि आयोजक न्यु राईज कै अनुप बुढा मगर चुनिए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड, आयोजक क्लबका अध्यक्ष बिष्णु प्रसाद पराजली लगायतले पुरस्कृत गरेका थिए ।

न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनीको आयोजनामा गत पुस २७ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments