News एनआरटी इलाम गोल्डकपको सेमिफाइलमा
रमेश समदर्शी

इलाम । पहिलोपल्ट इलामको मैदानमा उत्रिएको काठमाडौको न्यू रोड टिम (एनआरटी) यहाँ जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ठुलो टुँडिखेलमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती युवा क्लबलाई टाइब्रेकरमा रोक्दै एनआरटीले सेमिफाइनल यात्रा तय गरेको हो । टाइब्रेकरमा बागमतीविरुद्ध एनआरटी ४-३ गोलमा भाग्यमानी सावित बन्यो ।

निर्धारित ९० मिनेट खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यस्तै, १५ मिनेटको अतिरिक्त समयमा पनि खेलको छिनोफानो हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

बागमतीका कप्तान देवा गुरुङको प्रहार एनआरटीका प्रिसोले रोकेपछि बागमती पहिलो चरणबाटै घर फर्कियो । बागमतीका लागि विमल घिसिङ, आयुष रानामगर र अभिषेक महतोको प्रहारमात्र गोलमा परिणत भयो भने निर्मल घिसिङको प्रहार बाहिरिएको थियो ।

यस्तै, एनआरटीका सनम लिम्बू, सरोज तामाङ, सुमित श्रेष्ठ र जय गुरुङको प्रहार गोलमा परिणत भएको थियो । प्रतिस्पर्धात्मक खेलको म्यान अफ दी म्याच बागमतीका आयुष रानामगर भए ।

उनलाई फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनाल र एनआरएनएका प्रतिनिधि मनिष शेर्पाले नगद ५ हजारसहित ट्रफी प्रदान गरे । 

 
Post Comments