News पाँचथर एफसी इलाम गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

इलाम । प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै पाँचथर फुटबल क्लब यहाँ जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनएसएल टोली बुटबल लुम्बिनी एफसीलाई टाइब्रेकरमा हराउँदै पाँचथरले अन्तिम चारमा स्थान बनाएको हो । संघर्षपूर्ण खेलको निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए ।

ठुलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा पाँचथरले सुरुवाती अग्रता बनाएको थियो । पाँचथरका लागि खेल सुरु भएको ४ मिनेटमै कप्तान रोशन आङदेम्बेले गोल गरेर अग्रता दिलाएका थिए ।

विदेशी खेलाडीसहित मैदान उत्रिएको बुटबल लुम्बिनी खेलमा फर्किन ३६औँ मिनेट पर्खिनु परेको थियो । उसका लागि विदेशी खेलाडी स्टेफनले गोल गरे । तर, पाँचथरका सिमान्त थापाले ३९औँ मिनेटमा गोल गरेर अग्रता दिलाए ।

पाँचथरको खेलमा समर्थन गर्न घरेलु दर्शक लामो दूरी पार गरेर मैदानमा आएका थिए । यस्तै, इलामका केही दर्शकले पाहुना टोली बुटबल लुम्बिनीलाई समर्थन जनाए ।

यसैबीच, अर्र्का विदेशी खेलाडी मार्टिन्सले बुटबल लुम्बिनीलाई खेलमा फर्काउन ५३औँ मिनेट खर्चिएका थिए । बाँकी ३७ मिनेटभित्र दुवै टोलीले गोल गर्न सकेनन् । र, खेलको छिनोफानो टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा पाँचथर ४३ गोलअन्तरमा विजयी बन्यो । पाँचथरका लागि अशोक खवास, सुनिल खड्का, मन्जिल खड्का र रोमन भुजेलको प्रहार गोलमा परिणत हुँदा सिमान्त थापाको प्रहार विपक्षी गोलरक्षक मोस्सीले रोकेका थिए ।

यस्तै, बुटबल लुम्बिनीका चन्दन दास, विकास लामा र मार्टिन्सको प्रहारमात्र गोलमा परिणत भयो भने जनक कोइरालाको प्रहार पाँचथरका गोलरक्षक प्रमिजय गच्छदारले रोक्दा अनिल महर्जनको प्रहार आकासिएको थियो ।

खेलको म्यान अफ दी म्याच पाँचथरका कप्तान रोशन आङदेम्बे भए । उनलाई नगद पाँच हजारसहित ट्रफी प्रदान गरियो । पाँचथरले अब बिहीबार झापाकाे बिर्तामाेड एफसीसँग खेल्नेछ ।

रेडहर्स एफसी इलामले आयोजना गरेको गोल्डकपमा भोलि (बुधबार) काठमाडौँको न्यू रोड टिम (एनआरटी)ले आयोजकसँग पहिलो सेमिफाइनल खेल खेल्नेछ । गोल्डकपको विजेता टोलीले नगद ५ लाखसहित ट्रफी पाउने छ ।

Post Comments