News हिसान एन्फा सुनसरी कपः सुष्मा र ग्रीन पिसको जित
गोलनेपाल

इटहरी । यहाँ शुरु हिसान–एन्फा सुनसरी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सुष्मा सेकेण्डरी स्कुल र ग्रीन पिस नमुना स्कुलले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा सुष्मा सेकेण्डरीले एस.बी. सेकेण्डरी स्कुललाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हरायो ।

इटहरी–२ स्थित बुढासुब्बा फुटबल मैदानमा भएको खेलमा सुष्मा सेकेण्डरीका लागि दुर्गेन्द्र राई, जमसेद अली, आयुष चौधरी, जेनिल याक्खा, र नाइस राईले गोल गरे । खेलमा सुष्मा सेकेण्डरी कै जेनिल राई म्यान अफ द म्याच घोषित भए ।

यो जितसँगै सुष्मा सेकेण्डरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा ग्रीनपिस नमुना स्कुलले कस्तुरी एकेडेमीलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा ग्रीन पिसका रबिन्द्र कार्की म्यान अफ द म्याच घोषित भए । यो जितपछि ग्रीन पिस पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत माघ १६ गते पनि दुई खेलहरु हुनेछन् । १२ बजे हुने पहिलो खेलमा विश्व आदर्श स्कुल र स्मल हिभन सेकेण्डरी स्कुल भिड्ने छन् भने २ बजे हुने दोस्रो खेलमा पिस जोन सेकेण्डरी स्कुल र गोदावरी सेकेण्डरी स्कुल भिड्ने छन् ।

हिसान सुनसरी र एन्फा सुनसरीको संयुक्त आयोजनामा शुरु प्रतियोगितामा कुल ११ विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल यही माघ २२ गतेका दिन हुनेछ ।

Post Comments