News एसियन कपः उज्वेकिस्तान र दक्षिण कोरिया क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । उज्वेकिस्तान र दक्षिण कोरिया यहाँ जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएका प्रिक्वाटरफाइनलतर्फ उज्वेकिस्तानले थाइल्याण्डलाई २–१ ले हरायो भने दक्षिण कोरियाले बलियो प्रतिद्वन्द्वी साउदी अरेबियालाई टाईब्रेकरमा निराश बनायो ।

अल वकराहमा भएको पाँचौं प्रिक्वाटरफाइनलतर्फ उज्वेकिस्तानले खेलको ३७औं मिनटमा अजिजबेक तुर्गुनबोवको गोलबाट खेलमा अग्रता बनाएको थियो । उज्वेकिस्तानले त्यो अग्रता पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो ।

दोस्रो हाफको ५८औं मिनटमा सुपाचोक सरचतले थाइल्याण्डका लागि बराबरी गोल फर्काए । तर लगतै ६५औं मिनटमा एबोसबेक फेजुलेवले दोस्रो तथा निर्णायक गोल गर्दै उज्वेकिस्तानको जित सुनिश्चित गरे । उज्वेकिस्तानले क्वाटरफाइनलमा ३ फेब्रुअरीका दिन आयोजक कतारको सामना गर्नेछ ।

दक्षिण कोरियाको रोमाञ्चक जित

मंगलबार अबेर राती सम्पन्न छैठौं प्रिक्वाटरफाइनलतर्फ दक्षिण कोरियाले साउदी अरेबियामाथि टाईब्रेकरमा ४–२ को जित निकाल्यो । त्यसअघि निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

अल रयनमा भएको खेलको ४६औं मिनटमा अब्दुला रदिफको गोलबाट साउदीले खेलमा अग्रता बनाएको थियो । एक समय जितको संघारमा पुगेको साउदीले त्यो अग्रता अन्तिम मिनटसम्म जोगाउन सकेन । खेलको इन्जुरी समयमा गी चुङ सोले दक्षिण कोरियाका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा भने दक्षिण कोरियाले नै नतिजा आफ्नो पक्षमा पार्यो । दक्षिण कोरियाले क्वाटरफाइनलमा २ फेब्रुअरीका दिन अर्को बलियो टोली अष्ट्रेलियाको सामना गर्नेछ ।

Post Comments