News जनज्योति क्वाटरफाइनलमा
सुरज राना मगर

देवीनगर । जनज्योति युवा क्लब, देवीनगर यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ जनज्योतिले न्यु सिर्जना युवा क्लब, करौजियालाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । तिलोत्तमा–१४ स्थित सन्जिवनी खेलमैदानमा भएको खेलमा जनज्योतिका लागि रोहन राई र एरोन थापाले गोल गरे । पराजित न्यु सिर्जनाका लागि प्रवेश क्षेत्रीले गोल गरेका थिए ।

खेलमा जनज्योतिका रोहन राई खेलको म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १८ गते बिहीबारको तेस्रो प्रिक्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र आहना फुटबल क्लब, बुटवल बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

स्व. डिम बहादुर गुरुङको स्मृतिमा छोरी श्रीमाया गुरुङ, श्रीमती जसमाया गुरुङ र छोराहरु डम्मर बहादुर गुरुङ, रन बहादुर गुरुङ र चित्र बहादुर गुरुङ सहित समस्त गुरुङ परिवारद्वारा प्रायोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र थापाले जानकारी दिए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ २७ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्री (हापु) ले जानकारी दिए ।

 

Post Comments