News एसियन कपः जापानलाई नकआउट गर्दै इरान सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । सर्वाधिक चारपल्टको विजेता जापानलाई हराउँदै इरान जारी एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । शनिबार अल रयन स्थित ऐजुकेशन सिटी स्टेडियममा भएको खेलमा इरानले जापानमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गर्यो ।

इरानको यो लगातार दोस्रो सेमिफाइनल समेत हो । शनिबार खेलको २८औं मिनटमा हिदेमासा मोरिताको गोलबाट जापानले खेलमा शुरुवाती अग्रता बनाए पनि त्यो अग्रता दोस्रो हाफमा गुमाउन पुग्यो । ५५औं मिनटमा मोहम्मद मोहेबीले इरानका लागि बराबरी गोल फर्काए ।

त्यसपछिको खेल रोमाञ्चक बराबरीतर्फ लम्किरहेकै बेला इन्जुरी समयमा इरानले निर्णय आफ्नो पक्षमा पार्यो । ९०+६औं मिनटमा अलिरेजाले इरानका लागि पेनाल्टीबाट दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याउन सफल भए ।

इरानले अब ७ फेब्रुअरीका दिन हुने दोस्रो सेमिफाइनलतर्फ आजै राती हुन गईरहेको कतार र उज्वेकिस्तानबीचको चौथो क्वाटरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

Post Comments