News राईट लेन बागमती अन्तिम चारमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । राईट लेन बागमती युवा क्लब, सर्लाही यहाँ जारी छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ बागमतीले आयोजक रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । त्यसअघि गौरीटार रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ बागमतीका लागि अभि लामा र अनिल राना मगरले गोल गरे । उता चर्चित खेलाडीहरुलाई लिएर उत्रिएको मकवानपुरका लागि दुवै गोल स्टेफन समिरले गरे । यद्यपि टाईब्रेकरमा भने बागमतीले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्यो ।

खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका बागमतीका गोलरक्षक रौनक चौलागाई म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत माघ २२ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र रारा फुटबल क्लब, धनकुटा बीच हुने आयोजकले जानकारी दियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा न्यु डाँफे फुटबल क्लब, हेटौडाको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेृछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

Post Comments