News दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक कप शुरु
उमेश पुन

दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक कप शुरु

पोखरा । बगर भाइखलक, पोखराको आयोजनामा आइतबारदेखि दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक कप अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोेगिता सुरु भएको छ ।

पोखरा–१ टुडिखेल खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई ४–० ले हराएको छ । बगरको जितमा नरेश केसीले दुई तथा राजुकुमार तामाङ र राजु हमालले एक–एक गोल गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा संगम भेट्रानले लेकसाइड भेट्रानलाई टाइब्रेकरमा २–१ ले हराउन सफल भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

त्यसअघि उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बगर फाइखलकले नेपालमा ‘एट ए साइड’ फुटबलको ब्रान्डिङ गरेको बताए । उनले महानगरको लगानीमा पोखरा टुडिखेल खेलमैदानमा रोपिएको दुबोको संरक्षण हुन नसक्दा सुकेकोप्रति दुःख व्यक्त गर्दै आगामी वर्ष त्यसको संरक्षण गर्न आग्रह गरे । टुडिखेलको जग्गा विविध हिसाबले सानो भइरहँदा त्यहाँ हुने प्रतियोगिताका कारण हालसम्म जग्गा संरक्षण हुन सकेको उनको भनाई थियो । मेयर आचार्यका अनुसार हाल रहेको वडा प्रहरी कार्यालयलाई स्थानान्तरण गरेर टुडिखेलको जग्गा बढाइने छ ।

मेयर आचार्य भन्छन्, ‘यहाँको प्रहरी चौकीलाई हामीले गाई घाटमा लैजाने तयारी थालेका छौ । अब टुडिखेलको आफ्नै साइज हुनेछ । यो अभियान हामीले सुरु गरिसकेका छौं । यो मैदानमा उघिल्लो पटक यहि प्रतियोगिताको समयमा आउँदा निकै धुलो थियो त्यसैले धुलो नउड्ने बनाउँछु भनेका थियौं र दुबो रोपियो’ उनले भने, ‘अहिले अलि संरक्षण नभएर पुरै सुकेछ आशा छ आगामी वर्ष यस्तो हुनेछैन महानगरको १५ लाख रुपैयाँ बजेट छ ।’

बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले यस ४० वर्षमाथि उमेर समूहको मात्रै प्रतियोगिता हुने गरेपनि हाल तीन विधामा प्रतियोगिता भएको सुनाए । बगर भाइ खलकले दिनको एक घण्टा व्यायाम भन्ने अभियान चलाएको र उक्त अभियानलाई सघाउन सबैलाई अनुरोध गरे ।

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भेट्रानको फुटबल पोखरा रंगशालामा गराएमा आफुहरु सहयोग गर्न तयार रहेको बताए । पछिल्लो समय पोखराको खेलकुद विकास शुन्य भएकाले यसतर्फ सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिए । सहारा युकेका अध्यक्ष कृष्ण गुरुङले भेट्रान फुटबलको उदेश्य उत्कृष्ट रहेको सुनाए । भेट्रान खेलाडी खेलेर बचत रकम ग्रासरुटमा खर्चिदा नयाँ खेलाडी उत्पादन हुनेमा आफु आशावादी रहेको सुनाए ।

पूर्व राष्ट्रिय खेलाडी केसी सम्मानित

त्यस्तै नेपाली फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्व राष्ट्रिय खेलाडी सम्मानबाट यसपटक शम्भु केसीलाई सम्मान गरिएको छ । राखेपका पूर्व प्रशिक्षक समेत रहेका कृसी वरिष्ठ प्रशिक्षक केसीलाई सम्मानपत्रले सम्मान गरिएको हो ।

प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ तथा ६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हिमालयन ब्रुअरी प्रा.लिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको सह–प्रायोजकको रुपमा बगर भाइखलक युके र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ । माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिराहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरका टोलीहरुको सहभागिता रहेको छ ।

Post Comments