News फर्साटिकर सेमिफाइनलमा
सुरज राना मगर

देवीनगर । प्रभावशाली जितका साथ फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा फर्साटिकरले देवदह ब्वाईज, देवदहलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । तिलोत्तमा–१४ स्थित सन्जिवनी खेलमैदानमा भएको खेलमा फर्साटिकरका लागि अरुण चौधरीले दुई गोल गरे भने मुकेश कुँवरले थप एक गोल गरे ।

खेलमा दुई गोल गरेका फर्साटिकरका अरुण चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ २४ गते बुधबारको पहिलो सेमिफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र झरना स्पोर्टस क्लब, कुन्जलापुर बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

स्व. डिम बहादुर गुरुङको स्मृतिमा छोरी श्रीमाया गुरुङ, श्रीमती जसमाया गुरुङ र छोराहरु डम्मर बहादुर गुरुङ, रन बहादुर गुरुङ र चित्र बहादुर गुरुङ सहित समस्त गुरुङ परिवारद्वारा प्रायोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र थापाले जानकारी दिए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ २७ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

Post Comments