News थप चार खेलाडीको गन्तव्य बन्यो अष्ट्रेलिया
गोलनेपाल

काठमाडौैं । सुस्त र अनिश्चित बनेको नेपाली फुटबलको माहोल कै कारण विदेश पलायन हुने चर्चित खेलाडहिरुको सूचीमा थप चार खेलाडीहरुको नाम थपिएको छ । राष्ट्रिय टोलीमा स्थान बनाईसकेका आशिष चौधरी, सिमान्त थापा, सेसेहाङ आङदेम्बे र गोलरक्षक सुनिल देउला सुनिश्चित भविष्यका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

यी चार खेलाडीहरु नेपालको राष्ट्रिय टोलीमा आशा बोकेका खेलाडीहरुमा गनिएका थिए । सुनिल बाहेक अन्य तीन खेलाडीहरुले राष्ट्रिय टोलीमा स्थान समेत बनाईसकेका थिए । तर, अनिश्चित बन्दै गएको नेपाली फुटबलको फितलो भविष्य कै कारण यी खेलाडीहरुले पनि अष्ट्रेलियालाई आफ्नो नयाँ गन्तव्यका रुपमा रोजे ।

ए डिभिजन लिगमा सिमान्त र सुनिलले जावलाखेलका लागि खेलेका थिए । त्यस्तै आशिषले भने चर्च ब्वाईज युनाइटेडका लागि ए डिभिजन खेल्दै टोलीलाई डेब्यु सिजन मै लिग उपाधि जिताएका थिए । आशिष नेपाल सुपर लिग (एनएसएल) तर्फ धनगढी एफसीका मार्की खेलाडी समेत थिए ।

त्यस्तै भरपर्दा मिडफिल्डर सेसेहाङले शिर्ष डिभिजन त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेले तापनि नेपाल सुपर लिग भने ललितपुर सिटीका लागि खेले । साथै दोस्रो संस्करणको एनएसएलमा ललितपुरलाई च्याम्पियन बनाउन सेसेहाङको योगदान पनि महत्वपूर्ण रह्यो ।

पछिल्लो तथ्यांकलाई हेर्दा विदेश पलायन हुने खेलाडीहरुको सूची थप लम्बिएको छ । धेरैजसो राष्ट्रिय खेलाडीहरुको रोजाई भने अष्ट्रेलिया बन्दै आईरहेको छ । सुजल श्रेष्ठ, तेज तामाङ, बिमल घर्ती, दिनेश राजवंशी, सुनिल बल जस्ता खेलाडीहरु पनि अष्ट्रेलिया पलायन भईसकेका छन् । यो सूची लामो पनि छ र लम्बिने निश्चित पनि छ ।

Post Comments