
इटहरी । "खेलकुद हाम्रो सान ! खेलाडी उत्पादन हाम्रो अभियान !" भन्ने नाराका साथ आइतबारदेखि इटहरी-१ सुनसरीमा दोस्रो वडा कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
राष्ट्रिय माविको खेलमैदानमा भएको उद्घाटन खेलमा वडा २ ले विजयी शुरूवात गरेको छ । उद्घाटन खेलमा वडा नम्बर २ ले वडा नम्बर १५ लाई ३-२ ले हराउँदै विजयी शुरूवात गर्यो ।
वडा २ को जितमा उत्तम राई, विवेक राई र सिजल राईले गोल गरे । पराजित वडा नम्बर १५ का लागि राज चौधरी र समीर चौधरीले गोल गरेका थिए ।
खेलमा वडा नम्बर २ का सिजल राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार बापत नगद १ हजार र मेडल हात पारे ।
यो जितसँगै वडा नम्बर २ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन ७ गते सोमबार तीन खेलहरु हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरका कार्यवाहक मेयर रतन कार्कीले गरेका थिए ।
युथ क्लब, इटहरी-१, सुनसरीको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १३ गतेका दिन हुनेछ ।