News फर्साटिकर फाइनलमा, उपाधिका लागि समपुर्णसँग भिड्ने
सुरज राना मगर

करौजिया । संघर्षपुर्ण जितका साथ फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति छैठौं न्यु सृजना कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलतर्फ फर्साटिकरले झरना स्पोर्टस क्लब, कुन्जलापुरमाथि सडन डेथमा जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

त्यसअघि तिलोत्तमा–१३, करौजिया स्थित आयोजक क्लबको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ झरनाका लागि निखिल थापाले गोल गरेका थिए भने फर्साटिकरका लागि आशिष रानाले गोल फर्काएका थिए ।

त्यसपछि टाईब्रेकरमा पनि नतिजा निस्किन नसकेपछि खेलको छिनोफानो सडन डेथबाट लिइएको थियो । सडन डेथमा भने फर्साटिकरले झरनामाथि ६–५ को जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो । खेलमा फर्साटिकरका आशिष राना म्यान अफ द म्याच घोषित भए ।

फर्साटिकरले अब यही फागुन २६ गते शनिबारका दिन हुने फाइनलमा समपुर्ण युवा क्लब, सुपौलीसँग उपाधिका लागि भिड्ने खेल संयोजक शेर गुरुङले जानकारी दिए ।

न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजना तथा वरिष्ठ समाजसेवी क्या. नरजंग गुरुङको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । फाइनल खेल यही फागुन २६ गतेका दिन हुनेछ ।

Post Comments