News नेपाल भर्सेज भारतः दुवै टोलीका लागि निर्णायक भिडन्त
गोलनेपाल

काठमाडौं । जारी साफ यु–१६ महिला चयाम्पियनसिपतर्फ आज निर्णायक मानिएको खेलमा दुई परस्पर प्रतिद्वन्द्वी नेपाल र भारत भिड्दै छन् । फाइनल प्रवेशका लागि आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

दुई खेलको समाप्ती पश्चात समान ३–३ अंक जोडेका भारत र नेपाल समूहको क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । समूह चरणतर्फ दुवै टोलीले एक जित र एक हार बेहोरेका छन् । संयोग मान्नुपर्छ, समूह चरणमा दुवै टोलीले भुटानलाई हराएका थिए भने बंगलादेशसँग हार बेहोरेका थिए ।

समूहको शिर्ष स्थानमा ६ अंकका साथ अपराजित बंगलादेश छ । बंगलादेशले फाइनलमा आफ्नो स्थान लगभग सुनिश्चित गरिसकेको छ । अंकविहीन पुछारमा रहेको भुटान भने समूह चरणबाट बाहिरिसकेको छ ।

यता आजको खेलमा खासगरी नेपाललाई जित्नैपर्ने दबाब रहनेछ । भारतलाई भने बराबरी गरे पनि गोल भिन्नताका आधारमा फाइनल प्रवेश गर्न सहज हुनेछ । समूह चरणमा जित हात पार्दा भारतले भुटानलाई ७–० ले हराएको थियो भने नेपालले ३–० को जित निकालेको थियो ।

समग्रमा सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा ३ बजेदेखि शुरु हुने आजको खेल नेपाल र भारत दुवै टोलीका लागि महत्वपूर्ण छ । र, दुवै टोली आफू अनुकुल नतिजा निकाल्न र फाइनलमा स्थान बनाउने योजनासहित मैदानमा उत्रिनेछन् ।

Post Comments