News फुलबारी गाईजलाई कञ्चन कपको उपाधि
सुरज राना मगर

दियोबजार । यहाँ सम्पन्न कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि फुलबारी गाईज, बुटवलले जितेको छ । फाइनलमा घरेलु टोली कञ्चन–११ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै फुलबारी च्याम्पियन बनेको हो ।

कञ्चन–४, दियोबजार स्थित हिमालय सामुदायिक खेलमैदानमा भएको खेलमा फुलबारीका लागि सदिप केसी र सरोज दर्लामीले एक–एक गोल गर्दै टोलीलाई विेजेता बनाउने निर्णायक भूमिका खेले ।

विजेता बनेको फुलबारीले उपाधिसहित नगद २ लाख २५ हजार हात पार्यो भने उपविजेता कञ्चनले १ लाख १५ हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ फुलबारीका अनुप राना उत्कृष्ट गोलरक्षक चुनिए । कञ्चनका कप्तान असिम गुरुङ उत्कृष्ट डिफेन्डर बन्दा कञ्चनका आयुष गुरुङ उत्कृष्ट मिडफिल चुनिए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार फुलबारीका कप्तान सरोज क्षेत्रीले हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, कञ्चन गाउँपालिकाको अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष उपाध्यक्ष मौसमी थापा, आयोजक समितिका अध्यक्ष प्रकाश थापा–लगायतले पुरस्कृत गरेका थिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजार, रुपन्देहीको आयोजनामा गत फागुन १६ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments