News भद्रपुरका विद्यार्थीलाई भगिरथ मामा र हरि खड्काको हौसला
रमेश समदर्शी

झापा । भद्रपुर फुटबल ट्रेनिङ सेन्टरमा आवद्ध फुटबलका विद्यार्थीहरुलाई फुटबल प्रशिक्षक र पूर्व राष्ट्रिय खेलाडीले मैदानमै पुगेर हौसला प्रदान गरेका छन् ।

फुटबल प्रशिक्षक तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र एन्फा एसिस्टेनट टेक्निकल डाइरेक्टर हरि खड्काले शनिबार बिहान कलबलगुडी खेलमैदानमा हौसला प्रदान गरेका हुन् । फुटबल खेलका दुई हस्तीहरुले आफ्ना अनुभवसहित खेलप्रति प्रेरित गरेका छन् ।

पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक मित्र बस्नेतले स्थानीय ४३ जना विद्यार्थीलाई प्रशिक्षण दिइरहेका छन् । एन्फाका सी लाइसेन्स प्रशिक्षक बस्नेतले १३ वर्षमुनिका विद्यार्थीलाई प्रशिक्षण दिँदै आएका छन् ।

पूर्व राष्ट्रिय खेलाडी खड्काले मनदेखि मस्तिष्कलाई प्रयोग गरेर फुटबल खेल्न सक्नुपर्ने बताए । राम्रो फुटबलर बन्नका लागि शारीरिकरुपमा फिटमात्र नभएर अभिभावकको साथ चाहिने बताउँदै उनले प्रशिक्षकले सही ढंगले सिकाएको सीपलाई पालना गर्न विद्यार्थीलाई आग्रह गरे ।

अभिभावकले परिवार, समाजको शीर उच्च राख्न खेलको माध्यम भएकाले विद्यार्थीका अभिभावकलाई उनले धन्यवाद पनि दिए । विद्यालय, घरसँगै खेलमैदानमा पनि अनुशासन जरुरी रहेको उनले सुनाए ।

यसैगरी, फुटबल प्रशिक्षक मामाले खेलकुद र शिक्षालाई सँगै अघि बढाउनु पर्नेमा जोड दिए । उनले खेलाडीमा अनुशासन हुनु जरुरी रहेको भन्दै विद्यालय, घरमा पनि अनुशासित बन्न आग्रह गरे ।

घरपरिवारलाई पनि सहयोग पुराउनसके अभिभावकले खेलकुद क्षेत्रमा लाग्न आवश्यक सहयोग गर्ने उनको भनाइ थियो । खेलाडीले समयको ख्याल गर्दै खेलमैदानमा मात्र होइन अध्ययन र घरपरिवाभित्र पनि समयको पालना गर्न सुझाव दिए ।

यस्तै, स्थानीय अभिभावक भीम राजवंशीले अहिले मोबाइलको बढ्दो प्रयोगले बालबालिका एकोहोरिने समस्या बढ्दै गएको सुनाए । आफ्ना नानीलाई खेलकुद क्षेत्रमा लाग्नका लागि आफैँले समय निकालेको अनुभव सुनाए ।

प्रशिक्षणमा भद्रपुर नगरपालिकासँगै छिमेकी पालिका बिर्तामोड र कचनकवलका विद्यार्थी सहभागी हुने गरेका छन् । अभिभावकहरुकै सहयोगले विद्यार्थीलाई जर्सीलगायत आवश्यक खेलसामग्री जुटाइएको प्रशिक्षक बस्नेतले जानकारी दिए ।

प्रत्येक साताको शुक्रबार र शनिबार डेढ घण्टा फुटबल खेलको प्रशिक्षण दिने गरिएको छ । विद्यालय विदाका दिन थप प्रशिक्षण गराउँदै आएको प्रशिक्षक बस्नेतले जानकारी दिए ।

Post Comments