News बर्ष दिन बित्दा पनि जिल्ला लिगको विजेताले पाएनन् पुरस्कार रकम
गोलनेपाल

कास्की । गत बर्ष सम्पन्न कास्की जिल्ला लिग फुटबल प्रतियोगिताको विजेता बन्न सफल आदर्श युवा क्लबले प्रतियोगिता सम्पन्न भएको बर्ष दिन बितिसक्दा पनि पुरस्कार रकम पाएको छैन ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको उपविजेता बिष्णुपादुका युवा क्लबले समेत पुरस्कार रकम नपाएको खबर बाहिर आएको छ । खेलाडीन्युजका अनुसार लिग विजेताले ३० हजार तथा उपविजेताले २० हजार हात पार्ने बताइएको थियो ।

तर प्रतियोगिता सम्पन्न भएको बर्ष बितिसक्दा पनि कास्की जिल्ला फुटबल संघले सम्बन्धित क्लबहरुलाई पुरस्कार रकम दिनेतर्फ गम्भिरता नदेखाएको क्लबहरुले अरोाप लगाएका छन् ।

स्मरण रहोस, गत बर्ष पोखरा रंगशालाको पूनःनिर्माण कार्य भइरहेको समयमा लिग भएकाले उक्त प्रतियोगिता लेखनाथको भण्डारढिक स्थित खेलमैदानमा खेलाइएको थियो ।

उता लिग विजेता आदर्श क्लबका अध्यक्ष लक्षु भण्डारीका अनुसार गण्डकी प्रदेशस्तरीय लिगमा बरु प्रतियोगिताको रकम आफूहरुले प्राप्त गरे तापनि जिल्ला लिगमा जितेवापतको रकम भने नपाएको गुनासो गरे ।

आर्थिक अनियमितताको झमेलामा परेको कास्की जिल्ला फुटबल संघमाथि अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि आवश्यक छानविन गरिरहेको छ ।

 

Post Comments