News यम बहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रदान !
गोलनेपाल

साउदी अरबमा डेढ दशकदेखि बस्दै आउनुभएका बुटवल उपमहानगरपालिका ११ का यम बहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।

साउदी अरेबियामा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट आफू प्रभावित भएको जनाउँदै महिला टोलीलाई एक मुष्ट रकम दिनुभएको हो ।

उहाँले अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रिय सदस्य, एन्फा महिला संघकी अध्यक्ष एवंम राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम पठाइसक्नुभएको छ ।

लामाले भन्नुभयो, ‘तमुकी श्रीमती उमाको उपस्थितिमा केहि दिनमा खेलाडीलाई रकम हस्तान्तरण गर्नेछौं ।’ टोलीमा २३ खेलाडी रहेका छन् । जोर्डनसँगको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित समयमा फाइनल २–२ बराबरी भएको थियो । त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।

१५ वर्षदेखि साउदी बस्दै आउनुभएका तमुले ५ वर्षदेखि साउदीको रियादमा लालीगुरास नेपाली रेष्टुरेन्ट सन्चालन गर्नुहुन्छ ।

"महिला टोलीले जसरी प्रतियोगिता खेल्यो त्यो स्तरीय थियो, हामी सबैले उहाँहरुको हौसला बढाउनु पर्दछ भन्ने ठान्दछु,’ तमुले भन्नुभयो,‘म यहाँ पनि अन्य सामाजिक काममा पनि संलग्न छु । महिला टोलीका खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी छु । ’

Post Comments