News बहराईनसँग निरीह बन्यो नेपाल
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनौट खेल खेल्न बहराइन पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोली बहराईनसँग पहिलो खेलमा निराशाजनक हार बेहोरेको छ ।

आफ्नो घरेलु म्याचका रुपमा खेलेको नेपालले रिफा शहर स्थित बहराइन नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोलीसँग शून्यका विरुद्ध ५ गोलको अन्तरले पराजित हुन पुगेको हो ।

खेलको शुरुवाती समय दुई गोल खाएको नेपालले पहिलो हाफमा कुल तीन र दोस्रो हाफमा थप दुई गोल खान पुगेको थियो । खेल शुरु भएको दोस्रो मिनटमै मेहदी अल–हुमैदनले बहराईनका लागि पहिलो गोल गरेका थिए ।

त्यसको दुई मिनट लगतै सयद नासेरले त्यो अग्रता दोब्बर पारे । त्यस्तै पहिलो हाफ कै अतिरिक्त समयमा अली मदनले बहराईनका लागि तेस्रो गोल थपे । खेलको अन्तिमतिर नेपालले थप दुई गोल खान पुग्यो ।

८७औं मिनटमा इब्राहिम अल–खटाईले बहराइनका लागि चौथो गोल गरे भने इन्जुरी समयमा इस्माइल अब्दुलातिफले पेनाल्टीबाट पाँचौं गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

नेपाल र बहराइन बीच आगामी खेल अवे म्याचका रुपमा २६ मार्चका दिन बहराइन नेशनल स्टेडियम मै हुनेछ । उता नेपाल र बहराइन कै समूह एचमा रहेको युएईले यमनमाथि २–१ को जित निकालेको छ ।

समूह एचमा तीन खेलबाट ९ अंक जोडेको युएई शिर्ष स्थानमा छ । ६ अंक जोडेको बहराइन दोस्रो स्थानमा रहँदा ३ अंकका साथ यमन तेस्रो स्थानमा छ । अंकविहीन नेपाल भने पुछारमा छ ।

Post Comments