News दाङ जिल्लास्तरिय छनौट छात्र/छात्रा फुटबल खेलाडी छनौटमा अहिलेसम्मकै धेरै सहभागी
गोलनेपाल

दाङमा १३ वर्षमूनिको फुटबल खेलाडी छनौट प्रतियोगितामा ४ सय बढी खेलाडी सहभागी भएका छन् ।

एन्फा एकेडेमीका लागि छात्र/छात्रा फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत दाङ जिल्लाबाट ४ सय ४ जना खेलाडीले सहभागीता जनाएका हुन् । जुन संख्या अहिलेसम्मकै धेरै हो । यसअघिका छनौट प्रतियोगितामा १५० भन्दा बढी खेलाडी सहभागी हुन सकेका थिएनन् । पछिल्लो समय फुटबल क्षेत्रमा गतिविधि उल्लेख्यरुपमा बढेपछि १३ वर्षमूनिको फुटबल खेलाडी छनौट प्रतियोगितामा दाङबाट ४ सय ४ जना खेलाडीले सहभागीता जनाएको

अखिल नेपाल फुटबल संघ (एन्फा)दाङका अध्यक्ष संजात धितालले बताउनुभयो । उहाँले विभिन्न समयमा प्रतियोगिताको आयोजना गरिन थालेकाले पनि फुटबल खेलप्रतिको आकर्षण बढ्दै गएको बताउनुभयो । जिल्लास्तरिय छनौट प्रतियोगितामा ३० जना छात्रा र ३ सय ७४ जना छात्र खेलाडीले सहभागीता जनाएको उहाँले बताउनुभयो ।

१३ वर्ष मुनिको फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत दाङको तुलसीपुरमा शुक्रबार र शनिबार दुईसम्म जिल्लास्तरिय छनौट प्रतियोगिता भएको हो । जिल्लामा छनौट भएकाको नामावली आइतबार साँझसम्म प्रकाशित गरिने जिल्ला अध्यक्ष धितालले बताउनुभयो । जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेश हुँदै केन्द्रको प्रतियोगितामा सहभागीता जनाउन पाउने उहाँले बताउनुभयो ।

यहि चैत २४ देखि ३० गतेसम्म प्रदेशस्तरिय छनौट प्रतियोगिता हुने एन्फा दाङका कोच दुर्गा राजलवटले जानकारी दिनुभयो । उहाँले एन्फा दाङमा नयाँ नेतृत्व आएपछि फुटबल खेलका गतिविधि बढेको बताउनुभयो । खेलकुदमा गतिविध बढेकै कारण खेल प्रतियोगितामा उत्साहजनक सहभागीता हुन थालेको उहाँको भनाई छ । जिल्लास्तरिय छनौट प्रतियोगिताको अनुगमन, निरिक्षण एन्फा लुम्बिनी प्रदेशका कोषाध्यक्ष केशव चौधरी (मिग्मा)ले गर्नुभएको हो ।

एन्फाले काठ्माण्डौँमा बैशाख ३ गतेदेखि १० गतेसम्म हुने छनौट प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई आवासिय सुविधासहित खेल प्रशिक्षण गराउने आयोजकले जनाएको छ ।

Post Comments