News राइजिङ–११ सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली
सुरज राना मगर

तानसेन । राइजिङ–११ पाल्पा यहाँ जारी दोस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । चौथो तथा अन्तिम क्वाटरफाइनलमा राइजिङले रिडी एफसी, गुल्मीलाई ४–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

तानसेन स्थित टुंडिखेल मैदानमा भएको खेलमा राइजिङका लागि अरुण चौधरीले दुई गोल गरे । त्यस्तै अंकित मसराङी र कृष्ण आचार्यले थप एक–एक गोल गरे । उता पराजित रिडीका लागि सुनिल जंग क्षेत्री र बृजेश बिष्टले गोल गरेका थिए ।

खेलमा राइजिङका अरुण चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा चैत १९ गते बिश्राम दिइएको खेल संयोजक सन्दिप केसीले बताए । प्रतियोगिता अन्तर्गत चैत २० गते मंगलबारको पहिलो सेमिफाइनल खेल राइजिङ–११ र न्यु एकता क्लब बीच हुने खेल संयोजक केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments