News सांग्रीला मोरङ बिराट गोल्डकपको फाइनलमा
गोलनेपाल

बिराटनगर । सांग्रीला मोरङ फुटबल संघ, मोरङ यहाँ जारी आठौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा मोरङले एपिएफ फुटबल क्लब, काठमाडौलाई सडन डेथमा हराउँदै उपाधी नजिक पुगेको हो । त्यसअघि सहिद रंगशालामा भएको निर्धारित भएको समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

सडन डेथमा भने मोरङले एपिएफमाथी ४-३ को जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भयो । खेलमा मोरङका गोलरक्षक विशाल सुनार म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत २२ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौ र सिक्किम ड्रागन्स फुटबल क्लब, भारत बीच हुने आयोजकले जानकारी दियो ।

बिराट गोल्डकप फुटबल ट्रष्ट, बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments