News क्यान्सरलाई जितेर मैदानमा फर्किएका प्रिजेनलाई कपिलवस्तु गोल्डकपमा सम्मान
सुरज राना मगर

कपिलवस्तु । क्यान्सर जस्तो घातक रोगलाई जितेर करिब दुई बर्षपछि फेरि सक्रिय फुटबलमा फर्किएका राष्ट्रिय खेलाडी प्रिजेन तामाङलाई अहिले सबैतिरबाट हौसला र समर्थन मिलिरहेको छ । हाल थ्रीस्टारका लागि खेल्दै व्यवसायिक फुटबलमा फर्किएका प्रिजेनलाई कपिलवस्तुमा पनि हौसला सहित सम्मान गरिएको छ ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा जारी प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपमा थ्रीस्टारका लागि खेलेका प्रिजेनलाई बुधबार पुलिस क्लब र थ्रीस्टार बीचको पहिलो सेमिफाइनलतर्फ आयोजक र स्थानीय संघसंस्थाले हौसला स्वरुप नगद ५१ हजारसहित सम्मान गरेको हो ।

भलै खेलमा प्रिजेनको टोली थ्रीस्टारले पुलिससँग हार बेहोरे तापनि प्रिजेनका लागि यो अविस्मरणीय क्षण रह्यो । प्रिजेन भन्छन्, “टोलीको हारले निराश पनि छु । तर, आयोजक र स्थानीय शुभेच्छुकहरुले दिनुभएको यो हौसला र सम्मानले मलाई धेरै आत्मबल मिलेको छ । फुटबलमा खेलेर अझै केही गर्ने आँट मिलेको छ ।”

उता कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले पनि प्रिजेनले क्यान्सर जस्तो रोगलाई जितेर फुटबलमा फर्किनु सबैका लागि एउटा प्रेरणादायी क्षण बनेको बताए । अध्यक्ष थापा भन्छन् “कलिलो उमेर मै क्यान्सर जस्तो घातक रोगसँग लड्नु र त्यसलाई जितेर फेरि मैदानमा फर्कनु एउटा खेलाडीका लागि अविश्वसनीय र विशेष क्षण हो । प्रिजेनको यो आत्मबलबाट हामी सबैले प्रेरणा लिन सक्नुपर्छ । उनी हौसला र सम्मानका हकदार छन् ।”

स्मरण रहोस, यही चैत २४ गतेसम्म चल्ने कपिलवस्तु तिलौराकोट गोल्डकपको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

 

Post Comments