News हेटौडा मेयर कपः वडा नम्बर ६ र १३ को जित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ जारी चौथो हेटौडा मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर ६ र १३ ले जित हात पारेका छन् । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा वडा नम्बर ६ ले वडा नम्बर १८ लाई ३–१ र वडा नम्बर १३ ले वडा नम्बर १९ लाई १–० ले पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेका हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा हेटौंडा ६ को जीतमा सुरज स्याङ्तानले दुई गोल गरे । उनको दुई गोलको मदतमा ६ नम्बरले अघिल्लो चरणको यात्रा तय गरेको हो । उनी खेलको म्यान अफ दी म्याच घोषितहुँदै केल्मीको तर्फबाट पुरस्कार प्राप्त गरे । १८ नम्बरले एक गोल आत्मघाती गोल प्राप्त गरेको थियो । खेलमा १८ नम्बरले प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो ।

त्यस्तै अर्को खेलमा वडा नम्बर १३ को जीतमा एकमात्र निर्णायक गोल स्यामुएल सुनुवारले गरे । उनले खेलको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले केल्मीको तर्फबाट आकर्षक उपहार प्राप्त गरे ।

नगर खेलकुद विकास समिति, हेटौडा उपमहानगरपालिकाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल बैशाख ४ गतेका दिन हुनेछ ।

Post Comments