News पुलिस फाइनलमा, उपाधिका लागि मच्छिन्द्रसँग भिड्ने
गोलनेपाल

जितपुरसिमरा । विभागीय टोली नेपाल पुलिस क्लब यहाँ जारी जगदम्बा स्टिल १४औं जितपुरसिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलतर्फ पुलिसले अर्को विभागीय टोली एपिएफ फुटबल क्लबलाई ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

सिमरा रंगशालामा भएको खेलमा पुलिसका लागि रामचन्द्र वजी, सुजन मगर र आशिष राईले गोल गरे । पराजित एपिएफका लागि प्रदिप लामा र युवराज खड्काले गोल गरेका थिए । खेलमा पुलिसका रामचन्द्र वजी म्यान अफ द म्याच समेत चुनिए ।

पुलिसले बैशाख ३ गते सोमबार हुने फाइनलमा मच्छिन्द्र फुटबल क्लब, काठमाडौंसँग उपाधिका लागि भिड्नेछ । मच्छिन्द्रले शुक्रबार मात्रै सलहेश युवा क्लब, सिराहालाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।

नव जन जागृति युवा क्लब, जितपुरसिमरा–२, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments