News चर्च ब्वाईज बन्यो च्याम्पियन
गोलनेपाल

भोजपुर । सातौं भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधी चर्च ब्वाईज युनाइटेड, काठमाडौले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा चर्च ब्वाईजले त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौलाई टाईब्रेकरमा हराउँदै प्रतियोगिताको च्याम्पियन बनेको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ चर्च ब्वाईजका लागि अर्मान्ड बिडमले गोल गरेका थिए भने आर्मीका लागि अनिल बम्जनले गोल गरेका थिए । टाईब्रेकरमा भने चर्च ब्वाईजले आर्मी माथी ४-२ को जित निकाल्दै उपाधी उचाल्न सफल भयो ।

विजेता बनेको चर्च ब्वाईजले उपाधी सहित नगद ५ लाख हात पार्यो भने उपविजेता आर्मीले ३ लाखमा चित्त बुझाउन बाध्य बन्यो ।

फाइनल खेलको म्यान अफ द म्याच चर्च ब्वाईजका गोलरक्षक दिप कार्की चुनिए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे ।

उत्कृष्ट गोलरक्षक पनि दिप कार्की नै बने । त्यसवापत उनले नगद ७५०० र ट्रफी हात पारे । सर्वाधिक गोलकर्ताको पुरस्कार चर्च ब्वाईजका नवीन लामा, अर्माण्ड बिडम, आर्मीका वसन्त जिम्बा, खोटाङ भगवतीका मार्टिन र सलहेशका स्टेफन बिनोङ्ले संयुक्तरुपमा हात पारे ।

सबैले २/२ गोल गरेका उनीहरुले जनही २२/२२ सय रुपैयाँ नगद हात पारे । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाईजका सुदिप गुरुङ बने । उनले त्यसवापत नगद २५ हजार र ट्रफी हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले लगायतले पुरष्कृत गरेका थिए ।

Post Comments