News गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा
गोलनेपाल

भोजपुर । भोजपुर जिल्ला फुटबल सङ्घको आयोजनामा भोजपुर रङ्गशालामा जारी ९ औं मेयर भोजपुर गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा द गोर्खाज फुटबल एकेडेमी उदयपुरलाई सडन डेथमा पराजित गर्दै प्लानिङ बोइज युनाइटेड काठमाडौँले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ।

बुधबार सम्पन्न उक्त खेलमा उदयपुरको द गोर्खाज फुटबल एकेडेमीसँग निर्धारित समय बराबरी खेलेको प्लानिङ बोइज युनाइटेडले सडन डेथमा ३-२ को स्पष्ट जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

पेनाल्टी सुटआउट र सडन डेथ गरी कुल ६/६ प्रहार हुँदा प्लानिङ बोइज युनाइटेडको तर्फबाट अमर थापा,सिजल राई र अभिषेक मगरले गोल गर्न सफल भए । अन्जन प्रधान र निसकुमार श्रेष्ठको प्रहारलाई भने उदयपुरका रोल रक्षक सन्दीप भट्टराईले रोक्दा विशाल मर्दिले बाहिर प्रहार गरे। त्यसैगरी उदयपुरको तर्फबाट सविन घिमिरे र अशोक खवासले गोल गर्दा सुनिल खड्का, निवस फुयाल र युगन राईले बाहिर प्रहार गरे।

त्यस्तै युवराज थापाको निर्णायक पेनाल्टीलाई प्लानिङ बोइजका गोल रक्षक मनिष माझीले जोगाउँदै टोलीको जित सुनिश्चित गराएका हुन साथै मनिष उक्त खेलको म्यान अफ दि म्याच भन्दै नगद रु.५००० सहित ट्रफी प्राप्त गरेका छन्। यो जितसँगै प्लानिङ बोइज युनाइटेडले शुक्रबार सातदोबाटो युथ क्लब ललितपुरसँग दोस्रो सेमीफाइनल अन्तर्गत प्रतिस्पर्धा गर्नेछ।

बिहिबार प्रतियोगिताको पहिलो सेमीफाइनल खेल गत संस्करणको विजेता एपीएफ फुटबल क्लब काठमाडौँ र आयोजक भोजपुर जिल्ला फुटबल संघ दिनको ठिक ३ बजे प्रतिस्पर्धा गर्नेछन्।

Post Comments