
धरान । घरेलु टोली धरान फुटबल क्लब, धरान र राष्ट्रिय जागृति क्लब, इटहरी यहाँ जारी सुनसरी जिल्ला ए डिभिजन लिगको फाइनलमा प्रवेश गरेका छन् ।
धरान रंगशालामा भएको पहिलो सेमिफाइनलमा धरानले ब्वाईज फुटबल क्लब, इटहरीलाई टाईब्रेकरमा ५–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ धरानका लागि प्रबिन भुजेलले गोल गरे भने ब्वाईजका लागि सिजल राईले गोल गरेका थिए । खेलमा धरानका गोलरक्षक सचिन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।
त्यस्तै दोस्रो सेमिफाइनलमा राष्ट्रिय जागृति क्लबले गोधुली फुटबल क्लबलाई २–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो ।
राष्ट्रिय जागृतिका लागि युगेन राई र मनिष थापा मगरले गोल गरे भने पराजित गोधुलीका लागि साहिल राईले गोल गरेका थिए ।
खेलमा राष्ट्रिय जागृतिका योगेन्द्र कार्की म्यान अफ द म्याच चुनिए । उनले पनि पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।
अब जेठ ९ गते बुधबार हुने फाइनलमा धरान फुटबल क्लब, धरान र राष्ट्रिय जागृति क्लब, इटहरी उपाधिका लागि भिड्ने छन् ।