News एसियन बीच गेम्स पनि सर्यो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । यसै बर्ष हुने भनिएको छैटौं एसियन बीच गेम्स पनि कोरोना भाइरस (कोभिड–१९) महामारी कै कारण आगामी बर्षसम्मका लागि स्थगित गरिएको छ ।

चार–चार बर्षमा आयोजना हुँदै आएको प्रतियोगिता यस बर्ष चीनको सान्या शहरमा हुने कार्यक्रम थियो । यद्यपि यो प्रतियोगिता अब सन् २०२१ को २ अप्रिलदेखि १० अप्रिलसम्म सान्या शहर मै हुनेछ ।

त्यस्तै ओलम्पिक काउन्सील अफ एसियाले प्रतियोगिता सारिए तापनि प्रतियोगिताको लोगो र नाम भने नफेरिने स्पष्ट पारेको छ । स्मरण रहोस, प्रतियोगिताको नाम "छैटौं एसियन बीच गेम्स सान्या २०२०" राखिएको थियो ।

खेलाडीहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै यो निर्णय ओलम्पिक काउन्सील अफ एसिया, चाइनिज ओलम्पिक कमिटी तथा सान्या बीच गेम्स आयोजक कमिटीले संयुक्त रुपमा गरिएको जनाइएको छ ।

प्रतियोगिताको छैटौं संस्करणमा बीच फुटबलतर्फ दुई स्वर्णका लागि प्रतिस्पर्धा हुने तय भएको थियो । यसअघि पुरुष बीच फुटबल हुँदै आएकोमा यसपटकदेखि महिला बीच फुटबल समेत हुने बताइएको थियो ।

चार बर्ष अघि भियतनाममा भएको पुरुष बीच फुटबलतर्फ जापानले स्वर्ण पदक जितेको भने ओमानले रजत तथा लेबनानले काँस्य जितेको थियो ।

स्मरण रहोस, प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउँदै आएको छ । यद्यपि गत संस्करण नेपालले कुल १८ खेलहरुमा सहभागिता जनाए तापनि पदक भने जित्न सकेन ।

 

Post Comments