News बंगलादेशी क्लबमा आवद्ध भए ब्राजीलको शिर्ष लिग खेल्ने फर्नान्डेस
गोलनेपाल

काठमाडौं (एजेन्सी) । बंगलादेश प्रिमियर लिग च्याम्पियन बसुन्धरा किंग्सले ब्राजीलको शिर्ष डिभिजन खेल्ने बोटाफोगोबाट ब्राजिलियन मिडफिल्डर जोनाथन फर्नाँन्डेसलाई अनुबन्ध गरेको छ ।

२५ बर्षिय जोनाथनलाई बसुन्धराले अनुवन्ध गरेको कुरा क्लबले आफ्नो आधिकारिक सामाजिक सञ्चालमार्फत पुष्टी समेत गरेको छ । यद्यपि उनको स्थानान्तरण रकमबारे भने खुलाइएको छैन ।

स्मरण रहोस, ब्राजीलको शिर्ष लिग खेल्ने बोटाफोगोको कप्तानमा जापानका पूर्व स्टार मिडफिल्डर केइसुके होन्डा रहेका छन् । होन्डा यसै बर्षको शुरुवातमा ब्राजिलियन क्लबमा आवद्ध भएका थिए ।

उता बसुन्धरा किंग्सले भने एएफसी कपको समुह चरणको खेलहरु खेल्ने तयारीमा छ । हाल कोभिड–१९ महामारीका कारण रोकिएको एएफसी कपका खेलहरु सूचारु हुने संघारमा पनि छन् ।

समूह इ मा परेको बसुन्धराले माल्दिभ्सका दुई टोली माजिया र टिसी स्पोर्टस तथा भारतीय क्लब चेन्नई सिटीसँग खेल्ने कार्यक्रम छ । खेलहरु सबै माल्दिभ्समा हुने एसियाली फुटबल महासंघले यसअघि नै जनाइसकेको छ ।

बसुन्धरा किंग्सले सिजन २०१८–१९ को बंगलादेश प्रिमियर लिग जितेको थियो । २०१९–२० को सिजन भने हाल कोरोना भाइरस महामारीका कारण स्थगित छ ।

Post Comments