News मकवानपुर: केदारेश्वर युवा क्लबको फुटबल प्रशिक्षण सुरु
बिक्रम बानियाँ क्षेत्री
मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा रहेको केदारेश्वर युवा क्लबले खेलाडी उत्पादन गर्ने उद्देश्यले फुटबल प्रशिक्षण सुरु गरेको छ । रजैया र आसपासका खेलाडीलाई समेटेर आइतबारबाट एक महिने फुटबल प्रशिक्षण सुरु गरेको हो ।

प्रशिक्षणमा करिब ५० जना खेलाडी सहभागी हुने अपेक्षा राखिएको छ । पहिलो दिन ३० जनाको उपस्थिती रहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का मकवानपुर जिल्ला प्रशिक्षक विजयलाल श्रेष्ठले खेलाडीहरुलाई प्रशिक्षण गराइरहेका छन् ।

‘यस क्षेत्रमा सञ्चालन हुने फुटबल प्रतियोगिताहरुमा हाम्रो क्लवले पनि सहभागिता जनाउँदै आएको छ । खेलाडीमा आवश्यक प्राविधिक ज्ञानको अभाव देखिएकोले हामीले प्रशिक्षणको आयोजना गरेका हौं’, केदारेश्वर युवा क्लबका अध्यक्ष प्रमोद अधिकारीले भने, ‘खेलाडीहरुले पनि राम्रो सहभागिता जनाएका छन् । प्रशिक्षण फलदायी हुने हामीले विश्वास लिएका छौं ।’ सबैको सकारात्मक सहयोग भएमा फुटबल प्रशिक्षणलाई निरन्तर अघि बढाउने योजना रहेको उनले सुनाए । प्रशिक्षणका लागि करिव ६० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

‘क्लवको नेतृत्व फेरि मैले गर्ने मौका पाएसंगै आफ्नो कार्य योजनामा खेलाडीको लागि फुटबल प्रशिक्षण राख्ने बिषयलाई पनि समेटेको थिएँ । कार्य समितिका सबै साथीहरुले यसमा सहमति जनाउनुभयो । हामीले रजैयाको फुटबल चौरमा प्रशिक्षण सुरु गरेका हौं’, अध्यक्ष अधिकारीले भने, ‘रजैया आसपासका इच्छुक खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी हुन अनुरोध समेत गर्न चाहन्छौं ।’
Post Comments