News बिथोलिएको खेलमा नतिजा उल्टिदा अर्जेन्टिना पराजित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । ओलम्किप गेम्सको पुरुष फुटबलतर्फ समूह बी को पहिलो खेलमा नतिजा उल्टिदै मोरक्कोसँग अर्जेन्टिना स्तब्ध बनेको छ । यसअघि २–२ को बराबरीको नतिजा निस्किए तापनि अन्तिम समयमा खेल मोरक्काले २–१ ले जितेको हो ।

फ्रान्सको सेन्ट इटिनीमा भएको खेलमा दर्शकहरुले शुरुवातबाटै अर्जेन्टिनाको विपक्षमा नाराबाजी गरेका थिए । केही साताअघि अर्जेन्टिनी स्टार एन्जो फर्नान्डेजले सामाजिक सञ्जालमा लेखेको नश्लभेदी टिप्पणीका कारण फुटबल समर्थकहरु आक्रोशित थिए । यसबारे फर्नान्डेजले माफी पनि मागिसकेका छन् ।

यसरी उल्टियो नतिजा

बुधबार भएको खेलमा मोरक्कोले अर्जेन्टिनामाथि अन्तिम समयसम्म २–१ को अग्रता बनाएको थियो । मोरक्कोका लागि दुवै गोल सुफिआने रहिमीले गरे । अर्जेन्टिनाका पहिलो गोल जिउलियानो सिमोनले गोल गरेका थिए । यद्यपि खेलको अन्तिमतिर इन्जुरी समयमा क्रिष्टियन मेडिनाले अर्जेन्टिनाका लागि दोस्रो गोल फर्काए लगतै दर्शकहरुद्वारा खेल बिथोलिएको थियो ।

सबै खेलाडी, रेफ्री, अफिसियल ड्रेसिङ रुममा प्रवेश गरेका थिए । त्यसपश्चात लामो समय खेल रोकिन पुग्यो । पछि खेलाडी, रेफ्रीहरु मैदानमा प्रवेश गरे तापनि रेफ्रीले अर्जेन्टिनाको दोस्रो बराबरी गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भार) मा चेक गर्ने निर्णय गर्यो । त्यसपश्चात भारमार्फत सो गोललाई अयोग्य ठहर गर्दै मोरक्कोलाई खेलमा २–१ ले विजेता घोषणा गरियो ।

यो निर्णयपछि अर्जेन्टिनाका प्रशिक्षक तथा पूर्व लिजेण्डरी खेलाडी जेभियर मास्चेरानोले आक्रोश पोखेका छन् । सो खेललाई फुटबल इतिहास कै ठुलो सर्कस भन्दै असन्तुष्टी समेत पोखेका छन् ।

अर्जेन्टिनाले २७ जुलाईका दिन समूह चरणको दोस्रो खेलमा इराकको सामना गर्दैछ । सोही दिन मोरक्कोले युक्रेनसँग खेल्नेछ ।

Post Comments