काठमाडौं (एजेन्सी) । फ्रान्समा जारी ओलम्पिक गेम्सको महिला फुटबलतर्फ सबैलाई आश्चर्यमा पार्ने एउटा घट्नाले अहिले चर्चा पाइरहेको छ । घट्ना अनुसार क्यानडाले विपक्षी टोलीको अभ्यास सत्रमा जासुसी गर्न ड्रोन उडाएपछि अहिले क्यानडा महिला फुटबल टिम फिफाको कारवाहीमा परेको छ ।
फिफाले कारवाही स्वरुप क्यानडालाई ओलम्पिक गेम्सको महिला फुटबलतर्फ समूह चरणको खेलहरुमा ६ अंकको कटौती गरेको छ । साथै १ लाख ७५ हजार ७ सय २० पाउण्डको आर्थिक जरिवाना समेत गरेको छ । त्यस्तै मुख्य प्रशिक्षक बेव प्रिस्टम्यानलाई एक वर्षको प्रतिवन्ध लगाएको छ भने क्यानडा सकर एसोसिएशनका दुई पदाधिकारीहरुलाई पनि एक वर्षका लागि निलम्बन गरिएको छ ।
ओलम्पिकको महिला फुटबलतर्फ समूह ए मा रहेको क्यानडाले आफ्नो पहिलो खेलमा न्युजिल्याण्डलाई २–१ ले हराएको थियो । यद्यपि न्युजिल्याण्डले आफ्नो अभ्यास सत्रमा क्यानडाले ड्रोन प्रयोग गरी जासूसी गरेको आरोप लगाएपछि त्यसबारी आवश्यक छानबिन गरिएको थियो । छानबिन पश्चात् क्यानडालाई दोषी पाइएपछि कारवाही गरिएको हो ।
ओलम्पिकको महिला फुटबलतर्फ क्यानडाले अब समूह चरणमा आयोजक फ्रान्स र कोलम्बियासँग खेल्न बाँकी छ । यद्यपि यो कारवाहीमा परेसँगै क्यानडाको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना थप कठिन बनेको छ ।
समूह ए मा फ्रान्सको मात्र १ खेलबाट ३ अंक छ । उता कारवाहीमा परेपछि क्यानडासँगै कोलम्बिया र न्युजिल्याण्ड भने अंकविहीन छन् ।