काठमाडौं (एजेन्सी) । शुरुवातबाटै उत्कृष्ट लयमा देखिएका स्पेन र जापान जारी पेरिस ओलम्पिकको पुरुष फुटबलतर्फ आ–आफ्नो समूहबाट क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
समूह सी मा रहेको स्पेनले लगातार दोस्रो जित हात पार्ने क्रममा डोमिनिकन रिपब्लिकलाई ३–१ ले हरायो । सोही समूहको अर्को खेलमा इजिप्टले उज्वेकिस्तानलाई १–० ले हरायो ।
यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको स्पेन शिर्ष स्थानमा छ । ४ अंकका साथ इजिप्ट दोस्रो स्थानमा रहँदा १ अंक जोडेको डोमिनिकन रिपब्लिक तेस्रो स्थानमा छ भने अंकविहीन उज्वेकिस्तान पुछारमा रहँदै एक खेल अगावै बाहिरिएको छ ।
समूह सी को अन्तिम दुई खेलहरुमा ३० जुलाईका दिन डोमिनिकन रिपब्लिकले उज्वेकिस्तानको सामना गर्नेछ भने सोही दिन स्पेनले इजिप्टसँग खेल्नेछ । यी दुई खेलको नतिजाबाट समूह सी बाट क्वाटरफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।
त्यस्तै समूह डी तर्फ जापानले आफ्नो दोस्रो खेलमा मालीलाई १–० ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गर्यो । आफ्नो पहिलो खेलमा पाराग्वेलाई हराएको जापानले २ खेलबाट ६ अंक जोड्दै शिर्ष स्थानमा रहेर एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
सोही समूहको अर्को खेलमा पाराग्वेले इजरायललाई ४–२ ले हरायो । यो नतिजापछि २ खेलबाट ३ अंक जोडेको पाराग्वे दोस्रो स्थानमा छ । १–१ अंक जोडेका माली र इजरायल क्रमशः तेस्रो र चौथो स्थानमा छन् । समूह चरणको अन्तिम खेलमा ३० जुलाईका दिन इजरायलले जापानसँग खेल्नेछ भने मालीले पाराग्वेको सामना गर्नेछ ।
फ्रान्सको लगातार दोस्रो जित, अर्जेन्टिनालाई राहत
त्यस्तै समूह ए तर्फ आयोजक फ्रान्सले लगातार दोस्रो जित हात पार्दै क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । फ्रान्सले आफ्नो दोस्रो खेलमा गुएनालाई १–० ले हरायो भने सोही समूहको अर्को खेलमा अमेरिकाले न्युजिल्याण्डमाथि ४–१ को जित निकाल्यो ।
यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको फ्रान्स शिर्ष स्थानमा छ । समान ३–३ अंक जोडेका अमेरिका र न्युजिल्याण्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन गुएना पुछारमा छ । अब जुलाई ३० तारीखका दिन हुने समूह चरणको अन्तिम खेलमा फ्रान्सले न्युजिल्याण्डको सामना गर्नेछ भने गुएनाले अमेरिकासँग खेल्नेछ । अन्तिम दुई खेलबाट नै समूह ए बाट क्वाटरफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।
त्यस्तै समूह बी तर्फ आफ्नो पहिलो खेलमा मोरक्कोसँग पराजित हुन पुगेको अर्जेन्टिनाले दोस्रो खेलमा इराकमाथि ३–१ को उत्कृष्ट जित निकाल्यो । सोही समूहको अर्को खेलमा युक्रेनले मोरक्कोमाथि २–१ को जित निकाल्यो ।
यो नतिजापछि समूह बी मा सबै टोलीहरुको समान ३–३ अंक छ र सबै टोलीको क्वाटरफाइनलमा पुग्ने सम्भावना कायम छ । समूह चरणको अन्तिम खेलमा ३० तारीखका दिन अर्जेन्टिनाले युक्रेनसँग खेल्नेछ भने सोही दिन इराकले मोरक्कोको सामना गर्नेछ ।
- उत्तर कोरिया तेस्रोपटक फिफा यु–२० महिला विश्वकपको च्याम्पियन
- फिफा यु–२० महिला विश्वकपः क्वाटरफाइनलमा उत्तर कोरियासँग ब्राजील र जापानसँग स्पेन स्तब्ध
- फिफा फुटसल विश्वकपः थाइल्याण्ड, अफगानिस्तान विजयी शुरुवात
- फिफा विश्वकप एसियाली छनौटको तेस्रो चरणको खेलहरु शुरु
- सेप्टेम्बरमा शून्य नेपाली अन्तर्राष्ट्रिय फुटबल, रेफ्रीलाई भने अवसर