काठमाडौं (एजेन्सी) । पेरिस ओलम्पिकको महिला फुटबलतर्फ स्वर्णको दावेदार स्पेन समूह सी बाट क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । नान्टेसमा भएको आफ्नो दोस्रो खेलमा स्पेनले नाइजेरियालाई १–० ले हरायो ।
दुई खेलबाट ६ अंक जोडेको स्पेन समूहको शिर्ष स्थानमा छ र एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यस्तै समूह सी मै आइतबार ब्राजीललाई सनसनीपूर्ण रुपमा हराएको जापान ३ अंकका साथ दोस्रो स्थानमा छ भने समान ३ अंक जोडेको ब्राजील तेस्रो स्थानमा छ । अंकविहीन नाइजेरियामा पुछारमा छ ।
समूह चरणको अन्तिम खेलमा २१ जुलाईका दिन ब्राजीलले स्पेनको सामना गर्नेछ भने जापानले नाइजेरियासँग खेल्नेछ ।
क्यानडा, कोलम्बिया, अष्टड्ढेलिया र अमेरिकाको जित
त्यस्तै आइतबार राती नै भएको समूह ए तर्फको खेलमा साविक विजेता क्यानडाले आयोजक फ्रान्सलाई २–१ ले हरायो भने सोही समूहको अर्को खेलमा कोलम्बियाले न्युजिल्याण्डलाई २–० ले पराजित गर्यो ।
यो नतिजापछि समान ३–३ अंक जोडेका कोलम्बिया र फ्रान्स क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ड्रोन काण्डका कारण कारवाहीमा परेको क्यानडा अझै अंकविहीन रुपमा तेस्रो स्थानमा छ भने न्युजिल्याण्ड पनि अंकविहीन रुपमा पुछारमा छ ।
समूह ए तर्फ अन्तिम खेलमा अब ३१ जुलाईका दिन न्युजिल्याण्डले फ्रान्सको सामना गर्नेछ भने सोही दिन कोलम्बिया र क्यानडा पनि भिड्ने छन् ।
त्यसैगरी समूह बी तर्फ अष्ट्रेलियाले जाम्बियामाथि ६–५ को रोमाञ्चक जित हात पार्दा सोही समूहको अर्को खेलमा अमेरिकाले जर्मनीलाई ४–१ ले निराश तुल्यायो ।
यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको अमेरिका पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । ३–३ अंक जोडेका जर्मनी र अष्ट्रेलिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन जाम्बिया पुछारमा छ ।
समूह चरणको अन्तिम खेलमा २१ जुलाईका दिन अमेरिकाले अष्ट्रेलियाको सामना गर्नेछ भने सोही दिन जर्मनीले जाम्बियासँग खेल्नेछ ।