News भैरहवा ‘बी’ लाई दोस्रो युनिक फुटसल कपको उपाधि
सुरज राना मगर

मणिग्राम । युनिक फुटसल र मणिग्राम ब्वाईज, तिलोत्तमाको संयुक्त आयोजनामा सम्पन्न दोस्रो युनिक फुटसल कप खुला फुटसल प्रतियोगिताको उपाधि भैरहवा फुटसल क्लब ‘बी’ ले जितेको छ । शनिबार भएको फाइनलमा भैरहवाले नाम्लो फुटसललाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

तिलोत्तमा–५, मणिग्राम स्थित युनिक फुटसलमा भएको फाइनलमा निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि पेनाल्टी शुटआउटमा भैरहवाले नाम्लोमाथि ६–५ को जित निकाल्दै च्याम्पियन बनेको हो ।

विजेता बनेको भैरहवा फुटसलले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता नाम्लोले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ भैरहवाका सन्दिप क्षेत्री उत्कृष्ट गोलरक्षक बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि भैरहवा कै आयुष थापाले हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने नाम्लोका संजय लामा घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर ५ का अध्यक्ष, खेलकुद अभियन्ता रमेश डुम्रे, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, खेल संयोजक मदन सलामी मगर लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments