News मकवानपुरको मनहरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु
बिक्रम बानियाँ क्षेत्री

मकवानपुरको मनहरी गाउँपालिका १ चकरीमा शुक्रबारबाट वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।

सहीद प्रीतकुमार मोक्तान स्मृति प्रतिष्ठान मनहरी गाउँपालिकाको आयोजनामा शुभ दिपावलीको अवसरमा आयोजना भएको प्रतियोगितामा च्यापल यूथ क्लवले बिजयी यात्रा सुरु गरेको छ । उद्घाटन खेलमा परिवर्तनशिल युवा क्लवलाई २–० गोल अन्तरले हराउँदै च्यापल विजयी भएको हो ।

च्यापलको लागि दुवै गोल सुवास तामाङले गरेका हुन् । उनी नै खेलको म्यान अफ द म्याच भए ।

बागमती प्रदेश सभा सदस्य एवं नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी छिन्तुले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले खेलकुदको विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको धारणा राखे । गाउँगाउँमा हुने खेलकुदका गतिविधिले खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेको उनको दावी थियो ।

प्रीतकुमार मोक्तान प्रतिष्ठानका महासचिव एवम् प्रतियोगिता संयोजक हेलिस मोक्तानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिष्ठान अध्यक्ष एवम् हेटौंडा १२ नम्बर वडा अध्यक्ष ललित घलान, मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिव खनाललगायतको आतिथ्यता थियो ।

प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद २० हजार तथा उपबिजेताले १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

Post Comments